पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, २० फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुुभयो ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताउनुभयो । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

शिवालयमा दर्शनार्थीको भीड
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

विशेषतः वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् ।

आज विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव, विन्ध्यवासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।
व्रतमध्ये सर्वोत्कृष्ट मानिने महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजनकीर्तन गर्ने प्रचलन छ ।

गलेश्वरधाममा भक्तजनको भीड
महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको छ । शिवको प्रिय सोमबारका दिनै यो पर्व पर्दा झनै राम्रो र शुभ भएको भनेर आइतबार रातिनै टाढाटाढाका भक्तजन गलेश्वरमा आएका थिए । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले पूजा गर्दा यो दिन निकै लाभ मिल्ने बताइएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

उहाँले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कालीगण्डकी नदी किनारमा विशाल नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ ।

मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयंसेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएका छन् ।

गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

पर्यटकको सुविधाका लागि उपल्लो शिखमा पक्की सिँढी निर्माण

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–५ उपल्लो शिखमा पर्यटकको सुविधाका लागि पक्की सिँढी निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु चार लाख ४५ हजार र स्थानीयको रु ४५ हजार बराबरको जनश्रमदानबाट उक्त पक्की सिँढी निर्माण भएको सिँढी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश पाइजाले जानकारी दिनुभएको छ ।

यो पक्की सिँढीशिख देउरालीदेखि उपल्लो स्वराँ जाने उपल्लो बाटोसम्म ४८ मिटरको हुने र अहिलेसम्ममा ६० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताउनुभयो । सिँढी निर्माण भएपछि स्वराँ जाने पर्यटक र स्थानीयवासी लाभान्वित हुने अध्यक्ष पाइजाको भनाइ रहेको छ ।

जलेश्वरनाथ मन्दिरमा भक्तजनको भीड

महाशिवरात्रि पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर र जिल्लाका सबै शिवालयमा आज भक्तजनको भीड लागेको छ ।

महोत्तरीको जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्धारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो ।

रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचको रुपमा स्वयं महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकाले पनि यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

यहाँको शिवलिङ्ग बाहै्रकाल जलाशयमा रहने हुँदा जलेश्वर नाथ नामकरण भएको किम्वदन्ती रहेको छ । जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ भने शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

पौराणिक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शनमात्रले सम्पूर्ण पापकट्टि भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो ।

शिवरात्रिको अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरुन् भन्ने मनशायले यो पटक पर्याप्त व्यवस्था मिलाइएको शिव पूजा समारोह समितिका अध्यक्ष देवेन्द्र साहले बताउनुभयो ।

महाशिवरात्रिको अवसरमा यहाँ धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शनपश्चात् मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ । शिवरात्रिका दिन मधेशका कृषकले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका वाला तथा सु–स्वास्थ्यका लागि भगवान् आसुतोषलाई भण्टाको भार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

शिवरात्रिको पुण्य दिन आज जलेश्वर नाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलनसमेत रहेको छ । यस्तै गरी उत्तरवर्ती टुटेश्वरनाथ महादेव तथा सुन्दरपुर गाविसस्थित मङ्गलनाथ महादेव मन्दिरमा समेत भक्तजनको भीड तथा पूजा कीर्तनले वातावरण भक्तिमय पारेको छ ।

मङ्गलनाथमा आजदेखि तीन दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ । जिल्लामै सबैभन्दा बढी धार्मिक क्रियाकलाप, धर्म उत्सव एवं रमाइलो मेलाका कारण मङ्गलनाथ महादेव मन्दिर शिवरात्रिको अवसरमा आर्कषणको केन्द्र बन्ने गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here