काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको पाँच महिना बितिसकेको छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी) का कर्मचारी हेड्वर्क्स र सुरुङ निर्माणको काम छाडेर भागेपछि मेलम्चीको काम ठप्प भएको हो ।
आर्थिक रुपमा टाँड पल्टेको सिएमसीले गत डिसेम्बर १६ तारिखमा ठेक्का सम्झौता रद्द भएको एकतर्फी घोषणा गर्दै काम छाडेर भागेको थियो । कम्पनीले काम छाडेको पाँच महिना वितिसक्दा पनि ठोस निर्णय गर्न नसक्दा मेलम्चीको भविश्य झन झन् अन्यौलमा पर्दै गएको छ ।
पछिल्लो समयमा आयोजनाले भने आफ्नो तर्फबाट काम अगाडि बढाउन तयारी अवस्थामा रहेको जनाउँदै आएको छ । खानोपनी मन्त्रालयले केही कागजपत्रहरु अध्ययनको क्रममा रहेकाले काम ढिला भएको जनाएको छ । खानेपानी मन्त्रालयमा नयाँ सचिव दिपेन्द्रनाथ शर्मा आएपछि अहिलेसम्म भएका गतिविधिको अध्ययन भईरहेकाले काम ढिला भएको आयोजनाले जनाएको छ ।
केही समय अगाडि खानेपानी मन्त्री विना मगरले पुरानै ठेकेदार सिएमसीलाई नै फर्काउन पहल गरिने बताउनुभएको थियो । यसैका कारण अलमलमा परेको आयोजनालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा अझै ठोस निर्णय नभएको आयोजना स्रोतले जनाएको छ ।
मन्त्रालयले निर्णय नगर्दा मेलम्चीलाई अघि बढाउन आफुहरु तयारी अवस्थामा रहेपनि अन्यौलमा परेको आयोजनाले जनाएको छ । मन्त्रालयको निर्णय नआएसम्म आयोजनाले कुनै पनि काम गर्न नसक्ने मेलम्ची खानेपानी आयोजनाका एक अधिकारीले बताए ।
‘आयोजनालाई पुनः टेण्डर गरेरै जानुपर्छ, मन्त्रालय पुरानै ठेकेदार ल्याएर काम गराउने कुरा पनि गरिरहेको छ, तर त्यो त्यत्ति सजिलो छैन, पुरानै ठेकेदार आए पनि झनै जटिलता थपिने देखेको छु ।’ ती अधिकारीले भने ।
मेलम्ची खानेपानी आयोजना निर्माण सम्बन्धी मन्त्रालयले निर्णय नलिंदा मेलम्चीको पानी ल्याउन झनै ढिलाई हुने भएको छ । यसले मेलम्चीको पानी आउँला र खानेपानी समस्या झेल्नु नपर्ला भनेर कुरेर बसेका राजधानीका बासिन्दालाई झनै निरास पारेको छ ।