सपना राति सुतेर देख्ने होइन, जागै देख्ने सपना हो सरकारले भनेको : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २५ वर्षका लागि निती तथा कार्यक्रम ल्याइएको बताउनु भएको छ । आज शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अहिलेको सरकारले वैदेशिक सम्बन्ध देखि लिएर अन्य क्षेत्रमा ठुलो सफलता पाएको बताउनु भएको छ । उहाँले सरकारले प्रस्तुत गरेको कार्यक्रहरुका विपक्षीले विरोध गर्ने कुनै बुँदा नपाएको पनि जनाउँनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको बताउनुभएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ देश बनाउने कुराको सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन । जागै हुँदा देख्ने सपना हो ।’ शहीदका सपना पूरा गर्ने अठोटलाई कसैले रातमा देख्ने सपनाको रुपमा चित्रित गर्नु उचित नहुने भन्दै शहीदका सपना भनेको निदाएर घुरेर देख्ने सपना नभएको प्रष्ट पार्नुभयो ।

देश कहाँ पुग्ने, कस्तो बनाउने भन्ने आकांक्षा बोकेर त्यसलाई पूरा गर्ने अठोटलाई सपनाको रुपमा आफूहरुले लिएर हिँडेको पनि उहाँले बताउनुभयो ।यसअघि छलफलमा भाग लिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नीति तथा कार्यक्रम तयार पारिदा गल्तीले ‘मेरो सरकार’ लेखिएको भए अन्यथा मान्न नहुने तर्क गर्दै उनले नियतवश लेखिएको भए विकल्प दिउँसै सपना देख्नु उचित नहुने जिकिर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here