काठमाडौं, २५ वैशाख । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।
मुख्यमन्त्री पोखरेलले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्नु यसको प्रमुख उद्देश्य हो ।’
कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी
भ्रमण वर्षको निम्तो दिनेछ । भ्रमण वर्ष
कार्यक्रम अन्तरगत आगामी जेष्ठ ५ गते लुम्बिनीमा
मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ । त्यसैगरी लुम्बिनी फुड फेष्टिबल, मायादेवी
मन्दिर परिसरमा दैनिक दिपावली गरिने, धार्मिक
यात्रा र त्रिपिटक वाचन, योग
तथा ध्यान शिविरहरु पनि संचालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन
तथा वातावरणमन्त्री लिला गिरीले बताए ।
लुम्बिनीको भैरहवाबाट सुरु गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको
पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न
आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि भएको
कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौँका पर्यटन व्यवसायी र
लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई
सफल पार्न आग्रह गरे ।
सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले
लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै
राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औँल्याए । उनले लुम्बिनी
प्रबर्द्धनको विषय केवल लुम्बिनीबासीको मात्र नभई राष्ट्रिय र
अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको उल्लेख गर्दै अभियानले सरकारले
घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास
व्यक्त गरे ।