कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा बिहीबार भएको शक्तिशाली बम विष्फोटको जिम्मा प्रतिबन्धित विप्लव समूहले लिएको छ ।विप्लव समूहका सेती–महाकाली ब्यूरो इञ्चार्जले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बम विष्फोटको जिम्मेवारी लिएका हुन् । ब्यूरो इञ्चार्ज ‘निर्माण’ले पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ, ‘घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’त्यस्तै घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको समेत समूहले दाबी छ ।
‘यस घटनाले सार्वजनिक नागरिकहरुमा पर्न गएको असहजताप्रति दु:ख व्यक्त गर्दछौं । यस दु:खद घटनाको पछाडिको मूल कारण दलाल पूँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवादी सरकारले लिनुपर्छ’, विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको र उनलाई एकीकृत क्रान्तिका महान शहीद घोषणा समेत गरिएको छ ।बिष्फोटमा परी १ जनाको मृत्यु भएको छ । गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।अन्य ४ जना घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् ।