काठमाडौं–सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउने भएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउने बारे छलफल भएको छ ।
संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागितामा राजधानी काठमाडौंको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् ।
यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको र्याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।
दिवसको पूर्वसन्ध्यामा भदौ २७ देखि तयारी तीव्र पारिनेछ । तयारीका लागि आजै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ३८ सदस्यीय मूल समारोह समिति गठन भएको छ । कार्यक्रम सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन समिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चौर, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।
असोजको २ देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ । मुख्य दिन असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ ।
यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने मूल समारोह समितिले जनाएको छ ।