बाबुरामले मार्क्सवाद पोलपाल गरेर खरानी घसे : भीम रावल

धनगढी, ११ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले डा. बाबुराम भट्टराईले दोस्रो ‘टीकापुर घटना’ तयार गर्दै गरेको आरोप लगाएका छन् ।

नेता रावलले बाबुराम भट्टराईले मार्क्सवाद पोलपाल गरेर त्यसको खरानी घसेको आरोप लगाए । नेकपा सुदूरपश्चिम प्रदेशले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

भदौ ७ गते टीकापुरमा भएको थारु सम्मेलनमा प्रमुख अथितिका रुपमा सम्बोधन गरेका डाक्टर भट्टराईले अब मार्क्सवादको औचित्य नरहेको बताउँदै थारु समुदायलाई घर–घरबाट उठेर विद्रोह गर्न उक्साएको उनले बताएका छन् ।

डा. भट्टराईले चार वर्ष अघिको टीकापुर घटनाको पुनरावृत्ति गराउन खोजेको भन्दै त्यही दिन नेता रावलले ट्वीट गरेपछि दुबै नेताहरुबीच ‘ट्वीट वार’ शुरु भएको थियो । ‘उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा छँदा मार्क्सवादका कुरा गर्ने, अहिले कम्युनिष्ट प्रगतिशिलताका कुरा गरेर अरुलाई अर्ति उपदेश दिनु हाँस्यास्पद भएको बताएका छन् ।

उनले संविधान जारी भएकै दोस्रो दिनदेखि बाबुरामले माक्र्सवादलाई पोलपाल गरेर त्यसको खरानी घसेको आरोप लगाए । ‘बाबुराम जातीय राज्यका पछि लाग्नु भएको छ, नेपालमा जातका आधारमा के अब १२४ राज्य बनाउने हो र ?’ रावलले प्रतिप्रश्न गरे । उनले थारु समुदायका लागि बाबुरामले गरेको योगदान देखाउन चुनौती दिएका छन् ।

‘नेकपाले थारु समुदायलाई कांग्रेससँग मिलेर कमैया मुक्त गर्‍यो, धेरैजना नेकपाबाट स्थानीय तहमा जितेका छन्, नेकपाको पार्टीमा थारुको उल्लेख्य सहभागिता छ, नेकपाको जिल्ला अध्यक्षमै एक पटक थारु थिए, तर बाबुरामले के दिए थारुलाई ? मेरो चुनौती हो पुष्टि गरुन् बाबुरामले,’ नेता रावलले भने । उनले टीकापुरमा आएर थाहरुलाई उक्साएर सामाजिक सद्भाव भडकाउने, जातिय दंगा फैलाउन खोज्नेलाई थारु समुदायले अब भने चिन्नुपर्ने समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here