काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाब र प्रभावमा नपरी प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। ६४औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि घटनामा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए।
प्रधानमन्त्रीले अनुहार हेरेर अनुसन्धान गर वा नगर भनेर दबाब दिइनु गलत हुने तर्क गरे।
हालै सभामुख कृष्णबहादुर महरा पक्राउको घटनातर्फ लक्षित गर्दै ओलीले भने ‘कुन पार्टी सरकारमा छ, कसले अपराध गर्यो वा कुन ओहोदामा छ त्यसलाई हेरेर अनुसन्धान गर्ने हैन। निष्पक्ष अनुसन्धान गर्नुपर्छ। अनुहार हेरेर अनुसन्धान गर भनेर दबाब दिनुहुन्न।’
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालका माध्यमबाट सामाजिक संरचना नै बिथोल्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरे। सामाजिक सञ्जाल दुरुपयोगका घटना रोक्ने चुनौती प्रहरीमा पनि थपिँदै गएको उनले बताए। सामाजिक सञ्जाल दुरुपयोगमा तँछाडमछाड भइरहेको पनि उनले बताए।
सामाजिक सञ्जाल आन्तरिक सुव्यवस्था भड्काउने जग बनिरहेको पनि उनेको भनाई छ।
अपराधका घटनामा पनि राजनीतिकरण भइरहेकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे। यस्तै, राजनीतिकै आडमा अपराध गर्न नहुने पनि प्रधानमन्त्रीले बताए।