डडेल्धुरा, २५ कात्तिक । १७ औं चरणको अनशनअन्तर्गत आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ । स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएपछि अस्पतालले सुविधासम्पन्न स्थानमा उपचारको लागि लैजान सिफारिस गरेको छ ।
अस्पतालको सिफारिससँगै थप उपचारका लागि डा. केसीलाई काठमाडौं लैजाने तयारीस्वरुप हेलिकोप्टर डडेल्धुरा पुगेकाे छ । केसीलाई काठमाडौं लैजाने भनेपछि स्थानीयले विरोधमा प्रदर्शन गरेका छन् ।
नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको आयोजना नै गरेपछि अहिले हेलिकप्टर सेनाको ब्यारेकमा राखिएको छ । बन्दका कारण डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने यातायत ठप्प रहेको छ ।
कात्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ । डा.केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीलाई अन्तै सार्न अस्पतालले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
केसीको स्वास्थ्य जटिल बन्दै गएकाले अस्पतालले क्षमताभन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेको छ ।