२१ पुस । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफै संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ ।
विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगर प्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको आरोप लागेको छ । नगर प्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत विकासका काममा एकाधिकार जमाएको भन्दै कोहल्वी नगरपालिकामा विरोध समेत शुरु भएको छ । अधिकारको दुरुपयोग तथा कर्मचारी समेत अस्तव्यस्त बनेपछि नगर प्रमुख भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् । बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिंड्ने, कामको उचित मूल्याङ्कन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा नगर प्रमुख भण्डारी संलग्न भएको स्थानीयवासीको आरोप छ ।
नगर प्रमुख भण्डारीले आफ्नै सालालगायतका व्यक्तिमार्फत गत साउनमा निर्माण गरेको सडकको कालोपत्र काम पूरा नहुँदै उप्किएको स्थानीयवासी पे्रमा अधिकारीले बताए । नगरपालिकाभित्रका काममा मात्र नभई प्रदेश सरकारअन्तर्गतका काममा समेत नगर प्रमुख भण्डारीको अनुचित संलग्नता देखिएको स्थानीयवासीको आरोप छ । नगर प्रमुख भण्डारीले कमाउने धन्दामा भन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीले बताए । उपभोक्ता समितिमा आफन्त र आफू अनुकूलका व्यक्तिलाई राखिएको र सोही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले आरोप लगाएका छन् ।
विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न वडाहरुले लैजाने गरेको तर आफ्नो कुनै संलग्नता नरहेको नगर प्रमुख भण्डारीको जिकिर छ । स्थानीय र अन्य जनप्रनिधि भने विकास बजेट नगर प्रमुख भण्डारीले आफ्ना आसेपासेलाई मनलाग्दी बाँडेको आरोप लगाइरहेका छन् । निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोपलगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् समस्या रहेको स्थानीय जानकारहरुको भनाइ छ ।