कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका अधिकांश क्षेत्रमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भइरसका कारण अहिलेसम्म कुल एक लाख ८२ हजार २६० जना भन्दा बढी संक्रमित भएका छन् ।
विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १६० भन्दा बढी रहेको छ । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण सुरुमा चीनका महामारीको रुपमा फैलिएको थियो ।
तर पछिल्लो समय चीन बाहिर विशेष गरी युरोपमा यसले संक्रामक रुप लिएको छ । चीन बाहिर संक्रमित हुनेको संख्या एक लाख एक हजार चार सय भन्दा बढी रहेको छ । अहिलेसम्म १६१ देश तथा क्षेत्रहरुमा कोरोनाको संक्रमण देखिएको छ ।
चीन बाहिर इटाली सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म २ हजार १ सय ५० जना भन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोनाको संक्रमण भएका मध्ये ४३.८३ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन् ।