प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश एकको प्रदेशसभा बैठक अर्को सूचना जारी नहुन्जलेसम्मका लागि स्थगित भएको छ। बिहीबार विराटनगरस्थित प्रदेशसभा बैठकपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले तत्कालका लागि प्रदेशसभाको बैठक स्थगित भएको जानकारी दिए।

कोरोना भाइरस  (कोविड–१९)का कारण मन्त्रालयले प्रदेश–एकका विभिन्न स्थानमा सुरक्षाको तयारी गरेको जनाएका मन्त्री घिमिरेले हिउँदे अधिवेशन स्थगित भएको बताए।

त्यसैगरि समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले बिहीबार करिब एक घण्टा बसेको बैठकले प्रदेश–एकको बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई संशोधन गर्न ७२ घण्टाको समय दिएको छ। सो विधेयकका विषयमा उठेका प्रश्नहरुको जवाफ मन्त्री घिमिरेले दिएका थिए।

कोरोना भाइरसको संक्रमण रोकथामका क्रममा संघीय सरकारले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरिसकेको अवस्थामा प्रदेशसभा बैठक पनि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश–एकको प्रदेशसभा बैठकले हालसम्म ४४ वटा मध्ये ३८ वटा विभिन्न विधेयकहरु पारित गरिसकेको छ। यद्यपि हाल बैठकमा बालबालिका सम्बन्धी विधेयक, वन व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ दर्ता भएकाछन्।

त्यसैगरि प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा छलफल जारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here