सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संचारकर्मीसँग कुरा गर्दै संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सूरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीररुपमा लागेको बताए ।
संक्रमितको उपचार, बिरामीलाई राख्ने आइसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगले गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए । उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सूरक्षा सामाग्री पिपिई, परीक्षण किट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने बताए ।
उनले लकडाउनको अवस्थामा दैनिक उपभोग्य सामान, औषधी, खाद्यान्न, तरकारी, दुध लगायत अत्यावश्यक सामाग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे । उनले विभिन्न पेशासँग सम्बन्धीत दैनिक ज्यालादारी कर्मचारीलाई बिदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभुति गर्न ती संस्था, व्यक्ति र फर्महरुसँग सरकारले समन्वय गरिरहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे ।
उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।
उनले नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धीत देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरुको बारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।