कारोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ ।
लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारको तयारी छ । भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्टको विश्लेषणपछि मात्रै लकडाउनबारे पुर्नविचार हुने बताइएको छ ।
कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले पनि समय थप हुने भएकाले सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिएको छ । चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको छ ।