काठमाडौं । सरकारले उपत्यका र अन्य जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यवसायीहरुले गाडी सञ्चालन गरिहाल्ने निर्णय गरेका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस विषयमा छलफल गर्न आकस्मिक बैठक आव्हान गरिएको बताए। “सार्वजनिक गाडी चल्न दिने कुरा मिडियाबाट थाहा पायौं, कसरी सञ्चालन गर्ने भन्ने विषयमा औपचारिक जानकारी आएको छैन । आज महासंघको बैठक बसेर मात्रै निर्णय गर्छौ,” उनले भने । महासंघको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
व्यवसायीले सरकारले भने लगत्तै सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएका छन् । “महिनौं दिनसम्म गाडी थन्किएर बसेका छन् । टायर फेर्नुपर्ने, गाडी मर्मत छ । ड्राइभर, सहचालकलाई ल्याउनुपर्छ । स्वास्थ्य सुरक्षा कसरी गर्ने हो ? केही स्पष्ट पारिएको छैन,” सिटौलाले भने ।