काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ८ लाख २१ हजार १८६ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुने संख्या ३६ हजार ६७२ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२२ पुगेको छ।