काठमाडौं । ११ वर्षीय बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एक स्थायी कर्मचारी पक्राउ परेका छन् ।बालिका बलात्कारको आरोपमा पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।
उनलाई आइतबार अनामनगरबाट पक्राउ गरिएको हो । अहिले उनलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । डीएसपी होविन्द्र बोगटीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।
प्रहरीका अनुसार पुजारीले ११ वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती करेको गरेको देखिएको छ ।बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘उनी (पुजारी) घरमा आउँदा पनि पीडित बालिकाका आमाबुवाहरु खुसी हुने रहेछन्, बालिकाका आमाबुवासँग एकदमै नजिकको सम्बन्ध रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खबरहबसँग भने, ‘बालिकाका आमाबुवाको विश्वास जितेका पुजारीले घरमा एक्लै रहेकी बालिकामाथि पटक पटक बलात्कार गर्ने गरेका रहेछन् ।’