प्रियंका भन्छिन्- ‘अभिनय देखाउन पाँच मिनेटकै भूमिका पनि काफी हुन्छ’

काठमाडौं । मिडियाकर्ममा लागेर मिडियामैत्री नहुने र दम्भ घमण्ड पाल्ने नयाँ अभिनेत्री धेरै भएको आरोप कतिपयलाई लागिसकेको छ ।फिल्म शत्रु गतेमा अभिनय गरीसकेपछि नायिका आँचल शर्माले अब आफु हुलमुलका फिल्ममा अभिनय नगर्ने बताएकी थिईन् तर आँचलको यस कुरालाई काट्दै नायिका प्रियंका कार्कीले आफूले चलचित्रमा निर्वाह गर्ने भूमिका लामो र छोटोभन्दा पनि महत्वपूर्ण हुनुपर्ने बताएकी छन् । उनी विगत केही वर्ष यताबाट मुख्य नायिका भएर लामो भूमिकाभन्दा पनि प्रभावकारी भूमिकामा देखिने गरेकी छन् ।

यी अभिनेत्रीले गएको वर्ष नै चलचित्र छक्का पञ्जा–२ र शत्रु गतेमा मुख्य भूमिका भन्दा पनि सहअभिनेत्रीका रूपमा सशक्त भूमिका निर्वाह गरिन् । यी दुवै चलचित्र २०७४ सालका सफल चलचित्र साबित भए । मुख्य नायिकाको काम भन्दा यी चलचित्रमा प्रियंकाको कामले बढी चर्चा भयो ।

 

थुप्रै कलाकार भएको चलचित्रमा हुलमुलमा देखिनु यी अभिनेत्रीको नियमितता जस्तै भएको छ । यसरी समूहमा केन्द्रीय भन्दा द्वितीय भूमिकामा देखिनुको कारणबारे यी अभिनेत्रीले भनेकी छन्, ‘मैले गएको वर्ष नै थुप्रै कलाकार भएको सिनेमामा छक्का पञ्जा–२ र शत्रु गतेमा हुलमुलमै अभिनय गरेको थिएँ, एकल नायिकाका रूपमा मुख्य भूमिका निर्वाह गर्दै चलचित्र ह्याप्पी डेजमा काम गरेकी थिएँ । मुख्य भूमिका भएको ह्याप्पी डेजभन्दा समूहमा काम गरेको छक्का पञ्जा–२ तथा शत्रु गतेको व्यापार सर्वाधिक भएको यहाँहरूलाई जानकारी नै छ ।’

चलचित्रभरि धेरैभन्दा धेरै दृश्यमा निरन्तर छाइरहने तर त्यो अर्थपूर्ण नरहने भूमिकाप्रति आफूलाई चासो नभएको अभिनेत्री प्रियंकाको भनाइ छ । ‘अभिनय गर्न सक्ने कलाकारले पाँच मिनेटकै भूमिकामा आफूलाई सफल रूपमा प्रस्तुत गर्न सक्छ । त्यसैले, काम देखाउन चलचित्रमा मुख्य भूमिका नै चाहिँदैन र म त्यस्तो भूमिकामा विश्वास पनि गर्दिनँ,’ यी अभिनेत्रीले चलचित्र दाल, भात, तरकारीको घोषणासभामा भनेकी हुन् ।

त्यसैले, आजकाल मुख्य र सहायक भूमिकाभन्दा पनि त्यो भूमिकाको महत्व र प्रभावलाई आफूले हेर्ने गरेको पनि प्रियंकाले बताएकी छन् ।
यस वर्ष पनि अभिनेत्री प्रियंका मुख्य अभिनेत्री नभएर यस्तै हुलमुलका कलाकारकै रूपमा दर्शकमाझ आउँदै छिन् । उनले सहअभिनेत्रीका रूपमा अभिनय गरेको चलचित्र ‘नाइँ नभन्नु ल–५’ यही ८ भदौबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । यस चलचित्रमा पनि उनी केन्द्रीय नभएर सहायक भूमिकामा छिन् ।

सहायक भूमिकामा विगतमा चासो दिनुको कारणबारे आफू विगत ६ महिना नृत्यसम्बन्धी कार्यक्रम बुगी उगीमा व्यस्त हुनुपरेकाले भएको उनले बताइन् । मुख्य भूमिकामा धेरै चलचित्रका प्रस्ताव आउँदा पनि आफूले विगतमा खेलेका सफल चलचित्रको शृंखलालाई बढी महत्व दिने गरेको पनि यी अभिनेत्रीले प्रकाश पारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here