२४ घण्टामा ६३० जनाको कोरोना परीक्षण

पछिल्लो २४ घण्टामा ६३० जनाको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म तीन हजार ५२४ जनाको परीक्षण भइसकेको छ। कुनै पनि नयाँ संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०१, काठमाडौंबाहिर २२९ वटा परीक्षण भएका छन्। ल्याबमा परीक्षण भइरहेका नमूनाको संख्या ८ सयभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। दायरा बढाएसँगै परीक्षणको संख्या पनि बढेको छ।

त्यसैगरी क्वारेन्टाइनमा ८ हजार ७६० जना रहेका छन्। १२५ जना आइसोलेसनमा छन्। उपत्यकामा १५ र बाहिर ११० जना आइसोलेसनमा छन्। रेड जोनमा रहेकाको संख्या १८४ रहेको मन्त्रालयले जनाएको छ।

र्‍यापिड डाइनेस्टिक प्रविधिबाट गरिने टेस्ट पनि भइरहेको छ। प्रत्येक प्रदेशलाई ५ हजार वितरण गरिएकोमा कैलाली र कञ्चनपुरमा कुल ४७६ जनाको परीक्षण भएको छ। सबै नतिजा नेगेटिभ आएको छ। त्यसैगरी कपिलवस्तुमा २१, बागलुङमा १९ वटा टेस्ट भएकोमा सबै नेगेटिभ छन्। अन्य जिल्लामा पनि परीक्षण भइरहेको मन्त्रालयको भनाई छ। नतिजा र रिपार्टको संख्या आउन बाँकी छ।

विराटनगरको कोशी अस्पतालमा पीसीआरबाट नमूना परीक्षण सुरु भएको छ। यससँगै उपत्यकाबाहिर १० गरी कुल ११ बाट ठाउँमा परीक्षण भइरहेको छ। अन्य जिल्लामा जडान कार्य भइरहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार डडेल्धुराबाट १९९ र बैतडीबाट ४२५ र कर्णाली प्रदेशबाट ८५ गरेर कुल ७०९ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित संख्या ९ जना रहेको छ। उपचारमा रहेका ८ जनामध्ये टेकुमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन्। सबैको अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here