१० जेठ । एक नेपाली युवाको भारतीय क्वारेन्टाइनमै ज्यान गएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताए।
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताए। उनले थप जानकारी लिने प्रयासमा रहेको बताए। ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिननमा बसेका थिए।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि मृत्यु भएको बताइएको छ।
हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा रहेका उनको खुट्टा र अन्डकोष सुन्निएको भारतीय अधिकारीहरुले बताएका छन्। नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।