निर्मला हत्या प्रकरणः प्रहरीसँग बयान सुरु, एसपी विष्ट र डीएसपी जिसी अनुपस्थित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा प्रहरीविरुद्ध दायर भएको मुद्दामा बयान लिने कार्य सुरु भएको छ।

यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालत कञ्चनपुरमा दायर भएको मुद्दामा बयान लिने कार्य बिहीबारदेखि सुरु भएको हो।

बयानका लागि मुद्दा परेका ८ जना प्रहरीमध्ये तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसी अंगुर जिसी बाहेक अन्य ६ जना जिल्ला अदालतमा उपस्थित भएका छन्। निलम्बित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बयानका लागि अदालतमा उपस्थित भएका छन्।

निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाइ खडक सिंह विष्ट पनि अदालतमा उपस्थित भएका छन्।

मुद्दा परेका ८ प्रहरीमध्ये ६ जना मात्र बयानका लागि अदालतमा उपस्थित भएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले यातना तथा प्रमाण नष्ट गरेको भन्दै तत्कालिन एसपीसहित ८ जना प्रहरीबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। फरक दुई विषयमा दायर मुद्धाको बयान कार्य बिहिबारदेखि नै सुरु भएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।
अदालतमा उपस्थित भएकाहरुको बयान लिइने अदालतले जनाएको छ। त्यसपछि थुनछेक बहस हुनेछ। त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ।

अदालतमा उपस्थित नभएका तत्कालिन एसपी विष्ट र डीएसपी जिसीका लागि भने उपस्थित हुन आदेश गर्दै म्याद थप्ने अदालत स्रोतले जनाएको छ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका– २, की निर्मला पन्तको अर्को दिन साथीको घरको नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

घटनाको छानविन गर्न गठित विभिन्न समितिहरुले तत्कालिन प्रहरी नेतृत्वले चरम लापरबाही गरेका ठहर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here