गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।
तथ्याङ्क सङ्कलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।
‘वुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङ्क सङ्कलन शुरु भएको छ’ उनले भने, ‘दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।’
डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत सङ्कलन गर्ने कार्कीले बताए । लगत सङ्कलनमा जाने प्राविधिकलाई आयोजनाले दुई पटकसम्म तालीमसमेत प्रदान गरेको एकाइ प्रमुख कार्कीले जानकारी दिए ।