६ प्रहरी डेढ घण्टामै ३१ लाख बुझाएर छुटे, कसको कति धरौटी ?

काठमाडौं, १ चैत । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्व्डिएसपी ज्ञानबहादुर सेठीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् ।

डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् । 

बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको डेढ घन्टामै उनीहरूले तोकेको रकम बुझाएका हुन् । सबैको थुनछेक बहस बुधबार नै सकिएको थियो । ‘सबै प्रहरीले धरौटी जम्मा गरेर आजै रिहा भए,’ श्रेस्तेदार हरिकृष्ण अवस्थीले भने ।

अदालतले डिएसपी सेठी र इन्स्पेक्टर एकेन्द्र खड्कालाई सार्वजनिक यातनाविरुद्धको कसुरमा पाँच–पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा चार–चार लाख गरी जनही नौ लाख धरौटी असुल्न आदेश दिएको थियो । यस्तै, सार्वजनिक न्यायविरुद्धको कसुरमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई तीन लाख ५० हजार, सइ रामसिंह धामीलाई तीन लाख र जवान चाँदनी साउदलाई दुई लाख ५० हजार धरौटी तोकेको थियो ।

सार्वजनिक यातनाविरुद्धको कसुरमा मुद्दा लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र अनुसन्धानका डिएसपी अंगुर जिसी भने फरार छन् । उनीहरूलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन अदालतले केही दिनअघि पत्र काटिसकेको छ ।

निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यापछि प्रमाण नष्ट गरेको भन्दै ३ पुसमा एसपी विष्टसहित आठैजनाविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

यस्तै, सो घटनामा अभियुक्त भन्दै प्रहरीले ४ भदौमा सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाइ खडक विष्टले एसपी विष्ट, डिएसपीद्वय सेटी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध सार्वजनिक यातनाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए । नयाँ पत्रिका दैनिकबाट
जिल्ला अदालतले आदेश दिएको डेढ घण्टामै बुझाए ३१ लाख धरौटी
कसलाई कति धरौटी ?

–डिएसपी ज्ञानबहादुर सेठी– नौ लाख
–इन्स्पेक्टर एकेन्द्र खड्का– नौ लाख
–इन्स्पेक्टर जगदीशप्रसाद भट्ट– चार लाख
–सइ हरिसिंह धामी– तीन लाख ५० हजार
–सइ रामसिंह धामी– तीन लाख
–जवान चाँदनी साउद– दुई लाख ५० हजार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here