काठमाडौँ, वैशाख १९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।
उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भएको बताउनुभयो । उहाँले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताउनुभयो ।
उहाँले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालका विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूले ठानेको बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीका साथमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहनुभएको थियो । (रासस)