काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याउन लागेको जनाएको छ। मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने गरी नयाँ नियम ल्याउन लागेको प्रहरीले जनाएको हो। मोटरसाइकलमा सवारी गर्ने दुबै जनाले राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट हुनुपर्ने व्यवस्था गर्न लागिएको हो।
आइतबार महाशाखाका पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो कुरा बताएका हुन्।नयाँ योजनामा अनलाइनमार्फत् जरिवानाबापतको रकम तिर्न सकिने छ। यसबारे जानकारी दिँदै एसएसपी पन्तले भने, ‘चालकहरुलाई सहज होस् र ट्राफिक व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो। अबको केही महिनामै यसले पूर्णता पाउँछ।’
यसबाट चालकले लाइन बसेर बैंकमा भौचर भरेर रकम तिर्नु पर्ने समस्या समाधान हुने बताइएको छ। त्यसैगरी इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट थमाइने पनि एसएसपी पन्तले बताए। यसमा प्रहरीले कागजको प्रयोज बिना कप्युटर प्रविधिमार्फत् चिट काट्ने छ।
त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको उनले बताए।