काठमाडौ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले फेरी विश्व समुदायलाई चकित बनाएका छन् । सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका हुन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका छन् ।
आरोहणपछि शेर्पाले आफ्नो जीवनमा आरोहणबाट बिश्राम लिने कुनै योजना नरहेको प्रतिक्रिया दिएका छन् । शेर्पाले २३औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताएका थिए ।
सन् १९९४ मा शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यससँगै उनी अन्तर्राष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दैआएका थिए । यद्यपि उनले पेशाको दौरानमा कहिल्यै रेकर्ड राख्नेबारे नसोचेको बताएका थिए ।