जाेमसाेम विमानस्थल १५ दिन बन्द हुने

काठमाडौं– मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भने, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ ।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन  प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा ९ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए ।

धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्

 मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here