काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महरालले सांसद सिंहलाई बोल्न समय दिएका थिए ।
आफ्नो धारणा राख्दै सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले संविधानले समेत निजी सम्पत्ति, गुठी, संघ–संस्थालाई जोगाउने ग्यारेन्टी गरेको भए पनि सरकारले आगामी दिनमा निजी सम्पत्तिलाई राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको बताए । सांसद सिंहले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र ल्याउन सरकारसँग माग गरे ।