लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्।
बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा मस्तिष्कज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ। केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आइतवार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए। ती घटनाका कारण के हुन् भन्ने बारे विशेषज्ञहरूका माझ एक मत छैन।
वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ। अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तत्व पाइएको थियो। अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो। त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ।