काठमाडौं, २६ असार । भारतीय राजदूताबासबाट आएको पत्रबारे आफूलाई समयमा नै जानकारी नगराइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।प्रधानमन्त्री ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने समेत चेतावनी दिएका छन् । उनले कस–कसलाई कारवाही गर्ने भनेर प्रस्ट पारेका छैनन् ।
विषादी परीक्षणबारे भारतीय दूताबासबाट आएको पत्रबारे जानकारी नगराउनेहरुलाई पहिचान गरेपछि मात्रै कारवाहीबारे बताउने ओलीको भनाइ छ ।बिहीबार काठमाडौमा आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समयमा नै सूचना नदिनेमाथि कारवाही हुने बताएका हुन् ।‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन’, ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीले भने ।
थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसकेको र यसैलाई लिएर झूटो प्रचारबाजी भएको समेत प्रधानमन्त्रीको गुनासो थियो ।भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण नगर्न भनेको र सरकार आफ्नो निर्णयबाट पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका थिए ।प्रधानमन्त्री ओलीले केही दिनअघि मात्रै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ?’ भन्दै समाचारको प्रतिवाद गरेका थिए । तर प्रधानमन्त्रीले खण्डन गरेको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो ।भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र वाणिज्य मन्त्रालयमा पठाएको थियो ।