१६ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले देशभर एक दर्जन बढी एनसेल तथा नेपाल टेलिकमका टावरमा आगजनी र तोडफोड गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी (पूर्व), सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी, बाग्लुङ र बाँकेका विभिन्न टावरमा विष्फोट तथा आगजनी गरिएको हो ।
विहीबार विहानसम्म भएका विष्फोट तथा आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि पार्टीले बुधबार बन्दको घोषणा गरेको थियो । बन्द सकिएको राति देशभर आगजनी र तोडफोडका घटना भएका हुन् ।
आगजनी र तोडफोड घटना एनसेल टावरमा बढी भएका छन् । विप्लव समूहले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालयमा विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसयता एनसेल टावरलाई लक्षित गरी विप्लव समूहले गतिविधि बढाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।
यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ । गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय९डिस्पोज० गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो ।