हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्ला– दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ ।पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाईजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगन्ज-सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए ।

दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । हिमपातका कारण एक गाउँबाट अर्का गाउँसम्मको आवतजावत रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here