हिमपातका कारण डोल्पामा आजदेखि सुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।
हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलीभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए । सानासाना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ । विद्यालयको प्रांगणमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।
त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका-२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए ।
भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करीब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन् । नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा सुरू भएको थियो ।
बिहीबार विद्यार्थीले अङ्गे्रजी विषय दिएका थिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । – रासस