नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न हतारिन नहुने बताएका छन् ।
पदभार ग्रहण गरेकै दिन सोमबार सापकोटाले एमसीसीका विषयमा बहस छेडिएको र अध्ययन भइरहेकाले हतार गर्न नहुने अभिव्यक्ति दिएका हुन् । ‘एमसीसीबारे बहस छेडिएको छ, जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्ययन गर्दै जाऔं न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्यो र ? ’, सभामुख सापकोटाले पदभार ग्रहणपछि सञ्चारकर्मीसँग भने।
विद्युत् प्रसारण लाइन, सडक निर्माणलगायतका क्षेत्रमा खर्च गर्ने गरी नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ मा एमसीसी ‘कम्प्याक्ट’ सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार सरकारले संसद्बाट यसलाई पारित गराउन २०७५ असार ३० मा संसद्मा दर्ता गराएको थियो । सम्झौता गत वर्षको बजेट अधिवेशनमै पारित गराउन खोजिए पनि तत्कालीन सभामुख कृष्णबहादुर महराले ‘आलटाल’ गरेपछि पारित हुन सकेको थिएन ।