काठमाडौं । तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँका ६५ वर्षीया पुम्फा दमार्इंको उपचारको बाटो खुलेको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले घरमै निःशुल्क एम्बुलेन्स सेवा दिएर पुम्फालाई प्रतिष्ठानमा पु¥याई त्यहाँ कार्यरत डा सूर्यमान लिम्बूले प्रारम्भिक जाँच गरेका थिए ।
“उहाँको क्यान्सर निश्चित गर्न मासु झिकेर हेर्नुपर्ने भएकाले त्यो सेवा यहाँ छैन”, रासससँग कुरा गर्दै डा लिम्बूले भने, “यद्यपि छ महिनासम्म घाउ निको नभए क्यान्सर हुने नै प्रबल सम्भावना हुन्छ ।” बायाँ छातीको स्तनको बिग्रँदो अवस्थालाई हेर्दा क्यान्सरको सङ्केत गरेकाले उनलाई राम्रो उपचार होस् भनेर भरतपुर अस्पताल चितवनमै जान सिफारिस गरिएको उनले बताए । भरतपुर जान पीडित पुम्फा र सहयोगीसहित दुईजनालाई हवाई भाडा प्रतिष्ठानबाटै व्यहोरिदिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
उनको उपचारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ दुर्गा बञ्जाडेले पाँच हजार सहयोग गरीन् छ । त्यस्तै भारतमा काम गरिरहेका नरी परियारले प्रवासबाट पुम्फाको उपचारका लागि २० हजार नगद सहयोग गरेको पीडितका आफन्त सागर परियारले जानकारी दिए ।
उनका अनुसार जुम्ली सेवा समाज काठमाडौँले नौ हजार ४६०, काञ्जिरोवा होटल जुम्लाका प्रोपाइटर नुर्व लामाले पाँच हजार, तातोपानी गाउँपालिका–२ जुम्ला निवासी सरस्वती बमले दुई हजार र देपालगाउ जुम्लाका उमा क्षेत्रीले एक हजार पुम्फाको उपचारका लागि नगद सहयोग गरे । “विभिन्न क्षेत्रबाट आजसम्म करीब रु ५० हजार नगद सहयोग भएको छ । अब उहाँलाई आजै अपराह्न २ बजे तल झारिनेछ”, परियारले भन्नुभयो, “क्यान्सर अस्पताल भरतपुरले पनि पुम्फालाई निःशुल्क उपचार दिने विश्वास दिएको छ ।”
यता भरतपुर क्यान्सर अस्पताल चितवनका डा टोसिमा कार्कीले जतिसक्दो उनलाई सहयोग पुग्नेगरी उपचार गरिने बताए । डा कार्कीले भने, “पीडित पुम्फाको क्यान्सरको स्टेज हेर्छौं । किमो थेरापी, रेडियो थेरापी गर्छौं । यहाँ पुग्ने बित्तिकै उपचार सेवामा प्राथमिकता दिन्छौँ ।”