संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो ।
पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै उहाँले अहिलेसम्म नेपाली विद्यार्थी सुरक्षित रहेको उल्लेख गर्नुभयो ।
बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकाले चिनियाँ अधिकारीले आफूहरुलाई विश्वस्त बनाएको मन्त्री भट्टराईकाे भनाइ छ । कतिपय शक्ति राष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको उहाँले जानकारी दिनुभयो । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।
नेपाल आउने पर्यटकलाई नेपाल सुरक्षित र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि मन्त्री भट्टराईले सबैमा आग्रह गर्नुभयो । विभिन्न पर्यटकिय स्थलमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।