सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । आइतबार बिहान हायस र बस एकापसमा ठोक्किदा हालसम्म पाँच जनाको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी १४ जना घाइते भएका छन्। बिहान साँढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, उनका श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ वर्षीय टंक प्रसाद काफ्ले रहेका छन् ।