नेपाल टेलिकमले सुदूरपश्चिमका ९ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ। गत असोज १५ गते धनगढी र महेन्द्रनगरका विभिन्न १२ वटा सहरमा फोरजी सेवा विस्तार गरेको टेलिकमले प्रदेशका सबै जिल्लामा सेवा विस्तार गरिएको जनाएको छ।
जिल्ला सदरमुकामका प्रमुख सहरसंगै बाक्लो वस्ती भएका अन्य क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकमको क्षेत्रिय कार्यालय अत्तरियाका वरिष्ठ ईन्जिनियर जगदिश लेखकले बताए।
‘गत असोज १५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल टेलिकमको फोरजी सेवाको औपचारीक उद्घाटन गरेसंगै हाल सम्म सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाम तथा अन्य सहरमा सेवा विस्तार गरिएको छ।’ उनले भने।
‘सेवा संञ्चालनको लागि आवश्यक पर्ने दुई सय वटा टावरमा विटिएस र ईनोटपी जडान गरेसंगै प्रदेश भरी नै फेरजी सेवा विस्तार भएको हो।’ सुरुवातमा कैलाली र कञ्चनपुरमा बिभिन्न १२ वटा सहरमा मात्रै सेवा विस्तार गरिएको थियो।
एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य राखिएको उक्त सेवा विस्तारका लागि सुदूरपश्चिममा अहिले तीन सय ८४ विटिएस र ईनोटपी आवश्यक छ। तर अहिले सम्म फोरजी सेवा भने प्रभावकारी हुन नसकेको गुनासो भने कायमै रहेको छ।
तर अहिले जुन स्थानमा जडान गरिएको छ उक्त स्थानमा कुनै समस्या नरहेको दावी टेलिकमको छ। नेपाल टेलिकमको फोरजी, द्रुत गतिको ईन्टरनेट सेवा हो। यसको एक विटिएसले पाँच किलोमिटरको क्षेत्रफलमा काम गर्ने गरेको छ।