काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच हिँजो भएको छलफलपछि आज बुधवार दिउसो चार बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिँजो अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलपछि बैठक बोलाइएको हो । बैठकमा कोरोना भाइरसबिरुद्ध नेकपाको सिंगो पंक्तिलाई सचेतना अभियानमा उतार्ने कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि बुधवार पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । बैठकमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको कामको लागि बधाई दिनुका साथै थप प्रभावकारी अभियान थाल्न सुझाव दिने र पार्टी पंक्ति पनि कोरोनाबिरुद्धको सचेतना अभियानमा लाग्ने गरी निर्णय लिइने बताइएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीको सफल उपचार गर्ने चिकित्सकदेखि त्रिबि शिक्षण अस्पताललाई धन्यवाद दिने कार्यसूचीसमेत रहेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज भएको छलफलमा यिनै बिषयलाई लिएर सचिवालय बैठक बोलाउने तय भएको हो । उहाँहरुबीच पार्टी एकताका बाँकी काम, र संसारभर फैलिएको कोरोना भाइरसको महामारीको अवस्थाबारेमा छलफल भएको थियो । अध्यक्षद्वयबीच हालै मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारेमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई चिकित्सकको सल्लाह भन्दा बाहिर गएर धपेडी नगर्न सुझावसमेत दिनुभएको थियो ।