ठूलो संघर्षले कोरोना (कोडिभ–१९) भाइरस संक्रमणलाई परास्त गरेको चीनमा फेरि संक्रमण बल्झेर दुःख दिन थालेको छ ।
चीनमा ४५ जना नयाँ कोरोना भाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा आउने मानिसबाट फेरि जोखिम बढेको जनाइएको छ । जसका कारण चीनले बाहिरबाट आउनेहरुलाई विशेष निगरानी बढाएको छ ।
यद्यपि, नयाँ संक्रमितमध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक जना मात्र स्थानीय रुपमा संक्रमित बनेका हुन् । यसको साथै चीनमा भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।
८१ हजार ४३९ संक्रमितमध्ये ७५ हजार ४४८ जना बिरामीहरु स्वस्थ बनेर घर फर्किएका छन् । शुरुवातमा चीन महामारीको केन्द्रविन्दु रहेकोमा अहिले अमेरिका र इटालीमा चीनभन्दा बढी संक्रमित फेला परेका छन् ।