काठमाडौं – कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले लकडाउन गरेको एक महिना नाघेको छ । सरकारले लकडाउन कडिकडाउ गर्ने बताउँदै आएपनि मानिसहरुलाई अघोषित रुपमा गन्तब्यसम्म जान दिन थालेको छ ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिकहरु जोखिमकैबीच घर फर्कन बाध्य भएका हुन्।
भक्तपुरको जडीबुटीबाट रामेछाप नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको रामेछापका नगरप्रमुख प्रमुख नरबहादुर थापामगरले जानकारी दिए । रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ ।
यस्तै सिन्धुलीको तीनपाट गाउँपालिकाले अलपत्र परेका नागरिकको उद्धार गरेको जनाएको छ । नगर उपप्रमुख पदममाया तामाङका अनुसार मंगलबार र बुधबार सिन्धुली तीनपाटका मात्रै करिव ८०० सर्वसाधारणलाई घर फर्काइएको छ ।
अन्य विभिन्न जिल्लाका स्थानीय तहले पनि आफ्ना नागरिक फर्काउने क्रम जारी राख्दा जोखिम बढेको टिप्पणी समेत हुन थालेको छ ।