निजी अस्पतालले पनि कोरोना परीक्षण गर्न पाउने

वैशाख १५ । निजी प्रयोगशालाहरुले पनि मापदण्ड पूरा गरेर ‘कोभिड–१९’ को परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘मिडिया ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ को परीक्षण गर्न न्यूनतम मापदण्डसम्बन्धी निर्देशिका जारी गरिएको भन्दै मापदण्ड पूरा गरेका निजी प्रयोगशालाहरुले मन्त्रालयसँग अनुमित लिएर परीक्षण गर्नसक्ने बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ‘पीसीआर’ प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिँदै उनले अब देशभर पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने प्रयोगशाला १६ ओटा पुगेको बताए । डा. देवकोटाले कोरोना संक्रमणले आगामी दिनमा कस्तो रुप लिन्छ र संक्रमितको संख्या कस्तो रहन्छ भन्ने विषयले ‘लकडाउन’ निर्धारण गर्ने बताए ।

नेपालमा हालसम्म ५१ हजार ५ सय ३४ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ। रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट १० हजार ४ सय ७१ र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट ४३ हजार ६३ जनामा कोरोना परीक्षण गरिएको हो।

र्‍यापिड टेस्टमार्फत प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमती प्रदेशमा ७ हजार ६ सय २६, गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णाली प्रदेशमा ५ हजार १ सय २८ र सुदूरपश्चिममा ११ हजार ९ सय ६१ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here