काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका १० देखि ३० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने बताएका छन्। कोभिड-१९ का कारण थुप्रै देशले कामदार कटौती गर्न शुरू गरेकाले त्यसको असर त्यहाँ रहेका श्रमिक नेपाली र नेपालको अर्थतन्त्रमा पर्ने मन्त्री ज्ञवालीले बताए।
मन्त्री ज्ञवालीले स्वदेश फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायसँगको सहभागीतामा टोली गठन गरिएको जानकारी दिए । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क संकलनको काम शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए । महामारीको बेला आपतमा परेका नागरिकलाई उद्दार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै मन्त्री ज्ञवालीले भावनामा बकेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरेका छन् । अहिलेको विषम परिस्थितिमा आपतमा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढंगबाट सरकारले योजना बनाएर उद्दारको तयारी थाल्ने बताए ।
त्यस्तै उनले सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिए । त्यस्तैगरी कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए ।