काठमाडौं – लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः सुरु भएको छ। लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार सुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म धराहरा पुनर्निर्माणको ३८ प्रतिशत काम पूरा भएको छ भने ९० करोड रुपैयाँ खर्च भइसकेको छ। प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनःसञ्चालन गरिएको हो।
लकडाउनका कारण काठमाडौंमा रोकिएका कामदार काममा खटिएका छन्। उनले भने, “काम सुरु हुनुभन्दा अगाडि र पछाडि दैनिक थर्मल गनले शरीरको तापक्रम नाप्ने, कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुनपानी राखिएको छ। बाहिरका मान्छेहरु भित्र आउन दिइएको छैन भने भित्रका कामदार बाहिर निस्किएका छैनन्।” हाल दैनिक ४५ कामदारले धरहरा पार्किङको तेस्रो बेसमेन्टको बाल्टा बनाउने कार्य गरिरहेका छन् ।