आगजनी र बम विष्फोटमा दुई विप्लव कार्यकर्ता पक्राउ

२८ बैशाख । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा सडक निर्माणमा प्रयोग भइरहेका तीन एक्साभेटरमा आगजनी र बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी गाउँपालिका–६ का ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् । उनीहरु नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको दाबी प्रहरीले गरेको छ ।

गएको ५ माघमा मोरङको किसानचोक–टाँडी–रमिते सडक निर्माणमा प्रयोग गरिएको बा ३ क ४०१२, को १ क ३०३० र बा ३ क ३५४२ नम्बरको एक्साभेटरमा बम विष्फोटसहित आगजनी भएको थियो ।  विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक सुवास राईको नेत्रृत्वमा खटिएको टोलीले न्यौपानेलाई शनिबार राति रतुवामाईबाट पक्राउ गरेको हो । बस्नेत भने धरानबाट केही दिन अघि नै पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here