नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। सोमबार संघीय संसद सचिवालयमा थापाले ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन्।
प्रस्तावमा उल्लेख छ, ‘मलेसिया, साउदी, कतार, यूएई, बहराइन, ओमनमा महामारी बढ्दै गएको छ। यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिक समेत स्वदेश फर्कन खोजेका छन् भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ।’ ती देशमा रोजगारदताले कैयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार भंग गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पूरै पारिश्रमिक नदिने पाइएको प्रस्तावमा उल्लेख छ। प्रस्तावमा सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेका छन्।