काठमाडौं। धुलिखेल अस्पतालमा १ जेठ राति मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शव पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइएको छ। अस्पतालबाट अहिले बेलुकी शववहानमा राखेर उनको शव दाहसंस्कार गर्न पठाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले बताए।
मृतक महिलाको परिवारको तर्फबाट उनका श्रीमानलाई पठाइएको प्रजिअ तिमिल्सेनाले जानकारी दिए। पशुपति आर्यघाटको विद्युतीय शवगृहमा उनको दाहसंस्कारको तयारी गरिएको छ। सुरक्षा निकायको समन्वयमा उनको दाहसंस्कार गरिने छ।
कोभिड-१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि गरेका थिए। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा अहिलेसम्म उनको मृत्युको कारण सार्वजनिक गरेको छैन।