काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या ५६ पुगेको हो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते राति ११ बजे मृत्यु भएको हो । उनी मुटुका बिरामी थिए। साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पतालको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्यस्तै साउन १५ गते नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको पनि गण्डक अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । उनीमा ज्वरो तथा स्वासप्रश्वासको समस्या देखिएको थियो ।
अर्का वीरगञ्ज महानगरपालिका २ छप्कैया निवासी ६५ वर्षीय पुरुषको पनि साउन १५ गते बिहान मृत्यु भएको छ । मृत्युपश्चात गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यसैगरी सोही नगरपालिका वडा ११ स्थायी घर भएकी ललितपुर धसिखेल निवासी ६५ वर्षीया एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको साउन १६ गते पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र प्रेसरकी बिरामी थिइन् । योसँगै नेपालमा काेराेना संक्रमित मृतककाे संख्या ५६ पुगेको छ ।