काठमाडौं। भ्रष्टाचारविरोधी भनेर चिनिएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख (उपसचिव) प्रेमप्रसाद सञ्जेल कुटिएका छन्। उनीमाथि दुईजना कार्यालय सहयोगी महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिटमा संलग्न भएको आराेपमा नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको बताए। “उहाँ (प्रेमप्रसाद सञ्जेल) ले फोन गरेर आफूमाथि कुटपिट भएको जानकारी दिनुभयो, त्यसपछि प्रहरी टोली गएर दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लियौं”, प्रहरी उपरीक्षक खड्काले भने, “ड्युटीको विषयमा विवाद भएपछि हातपात भएको रहेछ, अहिले चाहिँ दुवै पक्षलाई राखेर छलफल गराइरहेका छौं।”
घटना आज बिहान साढे ११ बजेतिर भएको हो। ड्युटी गर्न नमानेको र ड्युटी त गर्नुपर्छ भन्दा आफूलाई दुईजना कर्मचारीले कुटपिट गरेको सञ्जेलले भनेको प्रहरी उपरीक्षक खड्काले बताए। कुटपिट गरेको आराेप लागेका कर्मचारीहरूले भने सञ्जेलले बढी काममा लगाउने गरेको र अनावश्यक गालीगलौज पनि गर्ने गरेको बताएका छन्। भट्टराई र सापकोटाले चप्पल, पञ्चिङ मेसिनलगायतले सञ्जेललाई कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ।