काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणिच भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ।
बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार आवेदनका साथ पूर्ण रुपमा कागजात पत्र नपुगेका कारण धेरैलाई दावी भुक्तानी हुन नसकेको हो।
हाल संक्रमित भएका करिब १४ हजारले बीमा रकमका लागि दावी गरेका छन्। तर तीमध्ये २ हजार ३ सयको मात्रै पूर्ण रुपमा प्रक्रिया पुगेको पाण्डेले बताए। ‘प्रक्रिया पुरा गरेका ती २ हजार ३ सयलाई हामीले यसै साताभित्रै भुक्तानी गर्छौं’ उनले सेतोपाटीसँग भने।
हालसम्म १ हजार ७ सय संक्रमितले बीमा रकम प्राप्त गरेको उनले बताए।